ताप्लेजुङ – ताप्लेजुङमा आगामी चैत्र १० गतेदेखि बज्रगुरु मन्त्रजप कार्यक्रम हुने भएको छ । फुङलिङस्थित सुकेटार क्षेत्रमा चैत्र १० गतेदेखि ३ दिनसम्म बृहत मन्त्रजप कार्यत्रमको तयारी भईरहेको छ ।
शनिबार नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौँ बज्रगुरु मन्त्रजप कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको मुल आयोजक समितिका संयोजक तथा नेपाल बौद्ध गुम्बा व्यवस्थापन समितिका अध्यक्ष थुप्तेन जिग्डोलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रमुख लामा क्याब्जे दिल्गो खेन्चे याङसी रिन्पोछेको उपस्थितिमा मन्त्रजप कार्यक्रम हुने भएको हो । उहाँ पहिलो मन्त्रजप कार्यक्रममा समेत ताप्लेजुङ आउनु भएको थियो । प्रमुख लामा सहित काठमाडौँबाट अन्य लामाहरुको समेत उपस्थिति रहने मुल आयोजक समितिका सदस्य सचिव पासाङ रिता शेर्पाले जानकारी दिनुभयो । आयोजकका अनुसार गत वर्ष समापनको दिनमात्र प्रमुख लामाको उपस्थिति रहेको थियो भने यस वर्ष उद्धघाटनदेखि अन्तिमदिन सम्मनै प्रमुख लामाको उपस्थिति रहने छ ।
चैत्र ८ गते नै प्रमुख लामा रिन्पोछे काठमाडौँबाट भद्रपुरसम्म हवाई यातयातका माद्यमबाट झापा आईपुग्नुहुनेछ । सो दिन प्रमुख लामाको बास ईलामका लागि तय गरिएको र चैत्र ९ गते ताप्लेजुङ आईपुग्ने कार्यतालिका रहेको छ । गत वर्षको समापनको दिन करिब १५ हजारभन्दा बढी भक्तजनले मन्त्रजप कार्यमक्रममा सहभागीता जनाएको थिए । यस वर्षको कार्यक्रममा ३ दिन नै प्रमुख लामाको उपस्थिति रहेकाले अझ झक्तजनहरुको संख्या बढ्ने पनि आयोजकको अनुमान रहेको छ । ३ दिने कार्यक्रममा आर्य–अवलोकितेश्वोर, आर्य तारा, आर्य मन्जुश्रीको मन्त्रको आगम, धर्म देशना तथा आयु अभिशेक सँगै प्रवचन कार्यक्रमहरु हुनेछन् । विश्व शान्ति र मानव एकताका लागि आयोजित मन्त्रजप कार्यक्रममा ताप्लेजुङ सहित पाँचथर, ईलाम, तेह्रथुम, संखुवासभा, काठमाडौँ, सिन्धुपाल्चोक लगायको जिल्लाबाट समेत भक्तजनको उपस्थिति रहने आयोजकले जनाएको छ ।
वि. सं. २०७३ सालमा सुरु भएको मन्त्रजप कार्यक्रम कोभिडका कारण ३ वर्षसम्म स्थगित भएको थियो । गत वर्षबाट पुन सुरु गरिएको मन्त्रजप कार्यक्रमले यसवर्ष पनि निरन्तरता पाएको हो । टिप्ताला नाका सञ्चालनमा आएको भए तिब्बत क्षेत्रबाट समेत भक्तजनको उपस्थिति हुने पनि आयोजकले बताएका थिए ।







